Popular Posts

Thursday, August 1, 2013

साझा बिसौनी

 
 
 
 
 
http://shahibinod.blogspot.com/2013/07/blog-post_28.html
पाँचथरमा जन्मिएर झापामा हुर्किएकी उमा सुवेदीले कामका सिलसिलामा ५ वर्ष इजरायलमा बिताईन् । कविता, कथा, निबन्ध, गीत र गजलमा कलम चलाउँदै आएकी सुवेदीले ५ वर्षे इजरायल बसाइका क्रममा रोजगारीको सिलशीलामा त्यहाँ पुगेका नेपाली महिलाहरुले भोगेका समस्या, आफन्तबाट टाढिनु पर्दाका मानसिक पीडाहरु तथा दोस्रो विश्वयुद्धमा सासमात्र जोगाएर भाग्न सफल यहुदीहरुले भोगेको त्रासदि देखिन्, भोगिन र प्रत्यक्ष महशुस गरिन् । तीनै समस्या, पीडा र त्रासदिहरुले उनलाई उपन्यास लेख्न प्रेरिरत ग¥यो र जन्मियो ‘तोदा’ । सांग्रिला बुक्सले हालै सार्वजनिक गरेको सुवेदीको उपन्यास तोदा निक्कै चर्चित भयो । छोटो समयमै दोस्रो संकरण समेत प्रकाशित भइसकेको छ । प्रस्तुत छ, उपन्यास तोदासँग सम्बन्धित रहेर सुवेदीसँग विनोद शाहीले गरेको कुराकानीः१) पहिलो उपन्यासबाटै चर्चाको शिखरमा पुग्नुभयो । खास के सोचेर वा भनौँ कुन उद्देश्यले लेख्नुभयो तोदा ?
–चर्चाको शिखरमा पुगेको त म आफैँ कसरी भनुँ र ? तर तोदालाई अत्यधिक पाठकले रुचाउनु भयो ।  जब म इजरायल पुगेँ । त्यहाँका बृद्धबृद्धाका पीडासँग साक्षात्कार हुने मौका पाएँ । दोस्रो विश्वयुद्धमा सासमात्र जोगाएर भाग्न सफल यहुदीहरु अहिलेसम्म पनि त्यो पीडाबाट मानसिक रुपमा मुक्त हुन सकेका छैनन् । त्यो पीडाले जन्माएका समस्याहरु पनि देखेँ । रोजगारीको सिलशीलामा इजरायल पुगेका नेपाली विशेष गरेर महिलाहरुका  काम खोज्दाका समस्याहरु ,आफन्तबाट टाढिनु पर्दाका मानसिक पीडाहरु देखेँ, भोगेँ र महसुस गरेँ । तिनै कुराहरुले  तोदा लेख्न उक्सायो ।
२) तोदाका लागि २ सय ७५ रुपैयाँ खर्च गरेर एउटा पाठक के पाउछ ? किन किन्ने अथवा किन पढ्ने यो उपन्यास ?
–    अहिलेसम्म नेपाली उपन्यासमा नभित्रिएको परिवेशलाई तोदामा प्रस्तुत गरेकी छु । नयाँ खालका चरित्रहरु र नयाँ खालकै समस्याहरु प्रकट भएका छन् । भाषा सरल तर विषयको संवेदनशीलतालाई गम्भिररुपमा बहन गर्न सकोस् भन्ने सोच राखेकी छु । तोदामा कथा भन्ने शैलीमा सकेसम्म नयाँपन दिने प्रयास गरेकी छु । त्यसैले तोदा पढेर पाठकले २ सय ७५रुपैयाँ बेकारमा गयो अवस्य भन्नुहुन्न  ।

३) उपन्यास बजारमा आइसकेपछि र पाठकले पढिसकेपछि पाएको प्रतिक्रिया सुन्दा वा तपाईले अहिले आफूले आफै मूल्यांकन गर्दा तपाईले जुन उद्देश्यले उपन्यास लेख्नु भयो त्यसमा सफल भएजस्तो लाग्छ ?
लाग्छ । सफलता मिलेको अनुभव भएको छ मलाई । धेरै पाठकबाट सकारात्मक प्रतिक्रिया पाएकी छु । केहीले मेरा कमि कमजोरीहरु पनि औँल्याइदिनु भएको छ । उहाँहरुको सबैको स्नेह र सुझावहरुले मलाई आगामी उपन्यास लेख्नकालागि उत्प्रेरित गरेका छन् ।
४) प्रकाशित भइसकेपछि अझै केही सुधार गर्नुपर्ने रहेछ वा यो अनावश्यक परेछ भन्ने लाग्यो तपाईलाई ?
-अब त्यसबारेमा चिन्ता गरेर केही फाइदा छैन । जे जस्तो छ, पाठकका अगाडि प्रस्तुत भैसक्यो । म पनि मान्छे नै हुँ । मेरा पनि मानवीय कमजोरी छन् । त्यो कमजोरी लेखनमा पनि प्रकट भएका होलान् । तर ती कमजोरी मेरा आगामी लेखनमा नदोहोरियुन भन्ने कुरामा सचेत रहने छु ।

५) विषयवस्तु, भाषा र प्रस्तुती शैलीका कारण उपन्यास विशिष्ठ हुँदाहुँदै पनि कतिपय ठाउँमा नाटकिय वा फिल्मि लाग्ने प्रसंगहरु छन् भन्ने आरोप लागेको छ नी ?
–मान्छेका जीवनका भोगाइहरु सबैका एकै नासका हुँदैनन् । धेरै जसो मैले देखेकै, बुझेकै पात्रहरुको कथाव्यथालाई तोदामा समावेश गरेकी हुँ । हाम्रो समाजमा कतिपय यस्ता व्यक्तिहरु हुन्छन्, जसको जीवन ज्युने शैली नै पनि नाटकीय लाग्न सक्छ । हाम्रा जीवनमा कतिपय घटनाहरु नाटकीयरुपमा, अप्रत्याशितरुपमा घट्छन् । त्यसैले त ती घटनाले हाम्रो मानसिकतालाई उद्वेलित गर्छन् । फेरि फिल्मी भनेको के हो ? मैले बुझेकी छैन । शायद कथानकमा आउने, चरित्रको जीवनमा आउने अनपेक्षित मोडलाई नै फिल्मी भनिएको हो । सिनेमाको शुरुवात त करिब सय वर्षदेखि भएको हो । त्यो भन्दा अगाडिका साहित्यमा त्यस्ता नाटकीयता प्रशस्तै हुन्थे । बरु कतिपय सिनेमाहरु ती साहित्यबाट प्रभावित भएको होलान् ।
६) कुनै ठाउँमा कथा निक्कै छिटो दौडिएकोछ, जसले पाठकलाई अलमलमा पार्दछ, यस कुरामा समहत हुनसक्नुहुन्छ ?
-मलाई लेख्दा त्यस्तो त लागेको थिएन । तर केही पाठकहरुले भने भन्नुभएको छ । उपन्यास धेरै मोटो नबनाउँ, प्रस्तुति अलिक चुस्त र छरितो रहोस् भन्ने मेरो मनोविज्ञानले पनि त्यस्तो भएको हुनसक्छ । यसप्रति आगामी लेखनमा सचेत हुन्छु ।
७) तोदामा नकरात्मक पक्षलाई मात्र उठाइयो भन्ने आरोप पनि सुनिन्छ नी । जस्तो द्धन्द्धबाट प्रभावित नेपाली महिलाहरुले गरेको संघर्षलाई देखाइयो उनीहरुको दुख देखाइयो तर त्यसबीचमा कुनै एक पात्रलाई आदर्श पात्रको रुपमा पनि त समावेश गर्न सकिन्थ्यो नी हैन र ?
–तोदाका चरित्रहरुले जीवनमा जुन खालका संघर्ष गर्दै आइरहेका छन्, त्यो संघर्ष आफैँमा सकारात्मक र प्रेरणादायी हैन र ? मलाई त मैले नेपाली नारीको संघर्षशील छविलाई प्रस्तुत गरेकी छु जस्तो लाग्छ । जीवनमा आइपरेका नकारात्मक क्षणबाट उब्रिएर पार्वतीजस्ता चरित्रले देखाएको  आत्मबल नै उपन्यासको विषय हो । पार्वती,थिरकुमारी लगायत उपन्यासमा आएका इजरायली वृद्धाहरु सबै जीवनका जटिलता क्षणहरु पार गरेर आएका हुन् । मेरालागि ती सबै आदर्श पात्र हुन् ।

८) अब नयाँ उपन्यास वा अन्य कुनै सिर्जनाको तयारी केही छ की ?
–अहिले अर्को नयाँ उपन्यास लेखनको तयारीमा छु ।  मेरा अबका दिनहरु आख्यान लेखनमा बितोस् भन्ने मेरो चाहना छ ।

९) अरुका उपन्यासहरु कत्तिको पढ्नुहुन्छ ?
–पढ्छु । पाएसम्म पढ्छु । सबै खाले उपन्यास पढ्ने मेरो बानी छ ।

१०) सबैभन्दा मन पर्ने नेपाली लेखक को हो ?
–धेरै हुनुहुन्छ । तर मलाई पारिजात र वीपी कोइरालाका लेखनले सानैदेखि प्रभाव पारेको हो । दौलतविक्रम विष्ट, धच गोतामे, भवानी भिक्षुका उपन्यास औधि मन पर्छन् ।

११) तपाईलाई सबैभन्दा मन परेको नेपाली उपन्यास ?
–एउटामात्र भन्न सक्दिनँ । धेरै छन् । हिटलर र यहुदी, सुम्निमा, मोदीआइन्, मुलुकबाहिर, शिरीषको फूल, घामका पाइलाजस्ता उपन्यास कहिले बिर्सन सक्दिनँ ।

१२)उपन्यास लेखेर तपाईजस्तै सफल लेखक बन्नका लागि के के आवश्यक छ ?
–    म अहिले नै सफल लेखक भैसकेँ भन्ने सोच्दिनँ । मैले आफुलाई सावित गर्न अझै बाँकी छ । तोदाले थप चुनौती थपिदिएको छ ममाथि । तर सफल  लेखक बन्न अध्ययन निकै आवश्यक छ । अरुले लेखेका पढ्नु र बुझ्नु जरुरी हुँदोरहेछ । आफुले लेखेका कुरामा निरन्तर परिष्कारकालागि पुनर्लेखन आवश्यक हुँदोरहेछ । लेख्ने बित्तिकै किताब निकाल्न हतारिनु हुन्न ।

१२) अन्तमा केही भन्न चाहनुहुन्छ की ?
– पाठकबाट निरन्तर माया पाइरहुँ । पाठकहरुको अपेक्षा अनुसारको आख्यान लेख्न सकुँ ।
(यो अन्तर्वार्ता साझा बिसौनी साप्ताहिक पत्रिकामा समेत प्रकाशित छ)

No comments:

Post a Comment