Popular Posts

Wednesday, August 21, 2013

रिभ्यु सपना-'नागरिक दैनिक"


रिभ्यु सपना


उमा सुवेदी -

सानी छँदा मेरो किताब छापिएको सपना देख्थेँ। अलि बुझ्ने भएपछि मेरो किताबबारे सबै पत्रपत्रिकाले समीक्षा छापेको सपना देख्न थालेँ। त्यसबेला कसैले भनेको थियो- 'त्यस्तो समीक्षालाई बुक रिभ्यु भनिन्छ।'

म रोजगारको सिलसिलामा इजरायल थिएँ। काममा भए पनि फेसबुक, स्काइप र च्याटिङमै मज्जाले दिन बित्थ्यो। रुचि सिर्जनामा थियो, वातावरण पनि उस्तै अनि भावनाहरू पनि। आख्यान लेखिहाल्ने आँट भनेँ थिएन। केही संस्मरण लेखेकी थिएँ। गजल र गीत लेखनले भने निरन्तरता पायो। विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा प्रथम भएसँगै शिव परियारको स्वरमा सो गजल रेकर्ड भएपछि म झनै हौसिएँ। विदेशमा बसेका धेरैले गीत-गजल नै किन लेख्छन्, मलाई थाहा छैन। सजिलो विधा भएरै हो त? खगेन्द्र संग्रौलाले गजललाई किन 'वनमारा झार' भनेका होलान्? म यतिखेर बुझ्ने प्रयास गरिरहेकी छु। संग्रौलाको कुरामा पूरै सहमत नभए पनि एउटा कुरा पक्कै हो- गजलले यतिबेला आफ्नो गरिमालाई कायम राख्न सकेको छैन। तुकबन्दीको साँघुरो घेरामा अल्भि्कएको छ यो विधा अहिले। गीतको हालत पनि त्योभन्दा सुखद छैन। 

इजरायल बस्दाताक भने गीत र गजल नै संसारको सबैभन्दा सुन्दर विधा भन्ने लाग्थ्यो मलाई। कवितामा किनकिन मैले सहज रूपमा आफूलाई अभिव्यक्त गर्न सकिनँ। उपन्यास त आफ्नो बुताभन्दा बाहिरकै कुरा लाग्थ्यो। आफ्ना भावना अभिव्यक्त गर्न सहज लाग्ने गीत-गजलमार्फत मायाप्रेमका काल्पनिक र रुमानी उडानमै रमाएँ। इजरायलमै रहँदा नेपालबाट मेरो पहिलो किताब छापियो- गजलसंग्रह। भूमध्यसागरको किनारमा केही साथीका माझ संग्रह विमोचन गर्दा औधि खुसी भएकी थिएँ। लाग्थ्यो- मैले सानोतिनो युद्ध नै जितेँ। बिरानो देशमा बसेकी एउटी लेखिकालाई किताब छापिनु केके न भएजस्तो लाग्यो। केहीले फुर्क्याइ दिन्थे। मन आकाशमा उड्थ्यो। अब मेरो नाम नेपाली साहित्यमा अमर हुनेछ- भ्रम पलायो। नेपाली साहित्य इतिहासमा आफ्नो नाम गोल्डेन कलरमा लेखिएको कल्पना गरेँ। कल्पनाले अझ सुख दियो। मुग्ध बनायो।

नेपाल फर्केपछि मैले गीतसंग्रह पनि निकालेँ। विमोचनमा गजबले प्रशंसा पाइयो। फेरि आकाशमा उडेँ म। जीवनमा कसैले नगरेको काम गरेजस्तो लाग्यो। आत्ममुग्धताको धङधङीमा धेरैदिन रहेँ।

नेपालका दैनिक, साप्ताहिक र पाक्षिक पत्रपत्रिकामा अरुका बुक रिभ्यु धमाधम प्रकाशित भइरहेको देखेर कसैले मेरो किताबको पनि समीक्षा गरेर पत्रिकामा प्रकाशित गरिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो। साहित्यक्षेत्रमा भर्खरै अघि बढ्न थालेकाले कहीँ कतै मेरो कृतिको चर्चा परिचर्चा भइदिए मभित्र अझै कति ऊर्जा थपिने थियो! यद्यपि मलाई थाहा थियो- सिर्जनामा सामर्थ्य छ भने इमान्दार समीक्षकहरूले खोजीखोजी समीक्षा गर्छन् र पत्रपत्रिकाको नजरबाट त्यस्ता सिर्जना ओझेल रहन सक्दैनन्। 

तर नेपाली समाजमा जस्तै नेपालको पत्रकारितामा पनि पुरुष प्रधान मानसिकता व्याप्त छ भनेर मेरा अग्रज महिला साहित्यकारहरुले प्रायः गुनासो गरेको म सुनिरहन्थेँ। महिला लेखकका कृतिको चर्चा-परिचर्चा कम हुन्छ। चर्चै भइहाल्यो भने पनि थोरै स्पेस दिइन्छ। यस्तो धेरैपटक सुनिसकेकी थिएँ। तर, एउटी नारीको कमलो मनभित्र पलाएको हिनताबोध मात्र हो कि भन्ने पनि लाग्थ्यो। नेपाली मिडियाले यस्तो गर्दैनन् भन्ने विश्वास पनि अर्कातिर छँदै थियो। विश्वासको यो महल अझै हल्लिहालेको त छैन। यदाकदा ससानो रेक्टर स्केलको भुइँचालोको अनुभूतिचाहिँ हुन थालेको छ। के नेपाली मिडिया महिला लेखकप्रति उतिसारो सहिष्णु छैन? प्रश्न मेरो आलोकाँचो मथिंगलमा बेलाबेला सल्बलाउँछ। किनकिन बुक रिभ्युको नाममा मैले भोगेको नमज्जाको प्रसंग उल्लेख गर्न मन लागिहाल्यो। नेपाली पत्रकारिताप्रति मेरो वितृष्णाको प्रकटीकरण हुँदै होइन। तर एउटा निजी अनुभूति भने हो, जसको तीतोपनले मेरो मनलाई बेलाबेला बेस्वादको बनाइदिन्छ।

मेरो कृति प्रकाशनको केही समयपछि फेसबुकमा एक पत्रकारसँग भेट भयो। उनी राजधानीबाट प्रकाशित तर उति नचलेको एक दैनिक पत्रिकाको शनिबारीय सप्लिमेन्टका संयोजक रहेछन्। उनलाई प्रत्यक्ष नदेखे पनि उनका लेख रचनासित सामान्य परिचित थिएँ। एकदिन अचानक फेसबुकको च्याट रुममा मलाई हेल्लो लेखे। म हर्षले गद्गद् भएँ। मैले तत्काल नमस्ते फर्काएँ। मलाई लाग्यो- अब उनी मेरो सिर्जनाका बारेमा सोधखोज गर्ने छन्। भर्खर प्रकाशित गीतसंग्रह बारे पनि सोध्लान्। बुक रिभ्यु अब छापिन्छ भन्ने कुरामा त्यतिबेलै म विश्वस्तजस्तै भएँ। तर, उनले त मेरो सिर्जना र किताबको बारेमा फिटिक्कै सोधेनन्। बरु भने- 'तपाईं फोटोमा भन्दा पनि बाहिर अझ बढी राम्री हुनुहुँदो रहेछ।'

म अलमलमा परेँ। अलिकति नरमाइलो लाग्यो। तर पनि धन्यवाद भनेँ। त्यसपछि पनि उनले एकोहोरो मेरो भए नभएको सुन्दरताको बखान गर्न थाले। म झन् असहज भएँ। के भन्नु, के नभन्नुको अलमलमा परेँ म। सोचेँ- कुन्ठित मान्छे रहेछन्। त्यसैले मेरो नभएको सुन्दरताको बखान गरेर आफ्नो कुन्ठालाई निकास दिइरहेछन्। 

केही दिनपछि फेरि भेट भयो ती स्वनामधन्य पत्रकारसँग। मैले भर्खरै मात्र पत्रिकामा उनको ताजा लेख पढेकी थिएँ। मैले त्यो प्रसंग झिकेँ। उनको रुचि त्यतातिर थिएन। कुरा मोड्दै भने- 'यु आर सो ब्युटिफूल।'

मलाई लागिरह्यो- मेरो सौन्दर्यको चर्चा गरेर उनले मलाई मुर्ख बनाइरहेका छन्।

यसपटक उनको प्रतिक्रिया उपेक्षा गर्दै आफ्नै काममा लागेँ। एकछिन पछि फेरि लेखे- 'तपाईंको भर्खरै निस्किएको बुकको रिभ्यु लेखाउनु भयो?' 

'नेपाल साप्ताहिकमा ईश्वरी ज्ञवालीजीले लेख्नुभएको थियो। त्यसपछि कसैलाई लेखिदिनुस् त भनेकी छैन। केही पत्रकारले लेख्ने कुरा गर्नुभएको छ।' मैले यथार्थ लेखिदिएँ। 

'त्यसो भए दुई प्रति बुक लिएर आउनुस् न। म लेख्छु तपाईको बुक रिभ्यु। भोलि बाह्र बजे आउनुस्। कफी पिउँदै कुरा गरौंला।'
कामको चटारोले उनले भनेको समयमा म पुग्न सकिनँ। साँझ च्याटमा देखा परे उनी। आउन नसकेकोमा माफी माग्दै भनेँ- 'अर्को दिन किताब ल्याइदिन्छु है।'

केही दिनपछि उनको अफिसमै पुगेर दुईप्रति किताब बुझाएँ। किताब टेबलको एक छेउमा राख्तै उनले भने- 'यो शनिबार तपाईंको किताबको रिभ्यु छापिन्छ। छापिएन भने अर्को शनिबार त पक्का।'

उनलाई नमस्कार गर्दै बाहिरिएँ। त्यसबेला उनको सारा अवगुण बिर्सिदिएँ। उनको कुन्ठालाई पनि बिर्सिदिएँ। मेरो किताबको रिभ्यु छापिँदै छ। मजस्तो नयाँ लेखकका लागि यो सानो कुरा थिएन। 

शनिबार आयो। रिभ्यु आएन। फेरि अर्को शनिबार पनि आयो। त्यसमा पनि रिभ्यु आएन। त्यसरी नै अरु तीनचार वटा शनिबार आए। रिभ्यु आउँदै आएन। 

एकदिन फेसबुकमा फेरि टुप्लुक्क झुल्किए। मैले हत्त न पत्त लेखेँ- 'खै त पत्रकारज्यू, मेरो बुकको रिभ्यु त छापिएन नि?' 
'ला! मैले त बिर्सेंछु।' उनले सजिलै भनिदिए। 

'हेर्नुस् न अहिले किताबको चाङ छ। रिभ्यु त आउँछ। तर केही समय कुर्नु पर्ने भयो।' उनले यति भनेपछि मेरो मरिसकेको आशा फेरि पलायो। हिजोमात्र सपनामा आफ्नो बुकको रिभ्यु नेपालका सबै पत्रिकामा छापिएको देखेकी थिएँ। मन प्रसन्न थियो। उनको कुराले थप प्रसन्न नै बनायो। 

फेरि लगत्तै उनले लेखे- 'तपाईंसँग बसेर कफी पिउने धोको पूरा भएन नि।'

'मेरो घरमा आउनुस्न। कफीमात्र किन, सबैजना बसेर खानै खाउँला नि।'- मैले भनेँ। 

तुरुन्त लेखे- 'होइन-होइन उमाजी, तपाईंसँग बेग्लै बसेर पिउनुको आनन्द घरमा कहाँ हुन्छ र? तपाइँको रूपसँगै कफी मिसाएर पिउनुको मजै अर्कौ। कस्तो कुरा नबुझ्नु भएको!' 

अब भने मलाई झोंक चल्यो। मैले ठाडै लेखेँ- 'मैले कुरा बुझेकी छु। यस्तो बेग्लै, अलग्गै, एकान्तमा जस्ता शब्दहरूमा प्रतिविम्बित आशय मलाई मन पर्दैन। तपाईंजस्तो पत्रकारले आफ्नो र पत्रिकाको प्रतिष्ठालाई ध्यान दिएर कुरा गरेको राम्रो।'

'होइन यसमा खराबी के छ? कसैलाई मन पराउनु नराम्रो कुरा हो?'

उनको यस प्रतिक्रियाले त मलाई भाउन्न छुट्यो। यस्ता व्यक्तिलाई के भन्ने? उनको मन पराउनुको अर्थ के हो? मलाई तिनीसँग विवाद गर्न त मन लागेन तर उनले महिलालाई त्यति कमजोर र निरीह ठानेको देखेर दिक्क लाग्यो। उनको महिलाप्रतिको मानसिकताले मलाई आहत बनायो। 

बुक रिभ्युको नाममा महिला लेखकलाई वस्तु बनाउने आफ्नो कुत्सित उद्देश्य पूरा नभएपछि उनले मलाई आरोप लगाउँदै कठोर स्वरमा भने- 'तपाईं हिप्पोक्रेट हो।'

ती पत्रकार, जसले यतिखेर एउटी महिला लेखकलाई हिप्पोक्रेटको आरोप लगाउँदै थिए, केही दिनअघिमात्र उनैले लेखेका थिए महिला अधिकारबारे लामै लेख। म अलमलमा थिएँ- उनले लेख लेखेका थिए कि आफ्नो पाखण्ड व्यक्त गरेका थिए। 

बौद्धिक जगतको यो हालत छ। पढेलेखेका मानिसहरू नै आफ्नो यौन कुन्ठा शान्त गर्न कुनै महिलालाई जालमा पार्न सकिन्छ कि भनी दत्तचित्त भएर लागेका हुन्छन् भने दूरदराजमा बस्ने अपठित महिलाको अवस्था के होला? मलाई यस्तो कहालीलाग्दो कुराले आज पनि झस्काइरहन्छ।

आजकल पनि साहित्यिक कार्यक्रममा भेटिन्छन् उनी। तर मसित बोल्दैनन्। मलाई देख्दा मुख अँध्यारो पार्छन्। चूकजस्तै अँध्यारो। उनको पत्रिकामा मेरो बुकको रिभ्यु आजसम्म पनि छापिएको छैन। मैले यसबारे सोधेकी पनि छैन। उनले यो शनिबार या अर्को शनिबार छापिन्छ भनेका पनि छैनन्। र, अचेल म आफ्नो किताबको रिभ्यु छापिएको सपना पनि देख्दिनँ।

No comments:

Post a Comment