Popular Posts

Wednesday, August 7, 2013

फुच्चे खलासी (कथा )



एकान्तकुना ,भैँसेपाटी ,बुङमती !’ 
फुच्चे केटो रत्नपार्कमा एउटा हात हल्लाएर कराइरहेको छ ।बेला बेला ऊ नजिकै रहेको थोत्रो मिनी बसको ढोकामा ढ्रयाङ ढ्याङ हिर्काउँछ र फेरि हात माथि उचालेर उसै गरी कराउँछ ,एकान्तकुना, भैँसेपाटी ......
त्यस दिन मेरो स्कुटर मर्मतका लागि ग्यारेजमा थन्किएको थियो ।घरदेखि अफिस पुगुन्जेल सम्ममा २ वटा बस परिवर्तन गर्नुपर्थ्यो ।शिक्षण अस्पतालबाट कान्तिपुर यातायात चढेर रत्नपार्कमा ओर्लिए पछि मैले धेरै बेर अल्मलिनु परेन ।फुच्चे केटाको चर्को आवाजले मलार्इ अर्को बस पक्रन सजिलो भयो ।
म सरासर गाडीमा चढेँ तर बस्ने ठाउँ थिएन ।त्यतिकैमा एक महिला केही छुटेझैँ झसङ्ग भइन् र फटाफट ओर्लिइन् ।अगाडि पट्टिको उल्टो फर्किएको सिट खाली भयो ।म त्यसमा थचक्क बसेँ र लामो सास तानेँ ।
टाउको फर्काउन ,गोजीमा हात पुर्याउन समेत ठाउँ नरहने गरी यात्रु कोचेपछि ठस्ठसी कन्दै बुढो गाडी गुड्न थाल्यो ।
फुच्चे केटो ढोका छेउमा उभिएर चिच्याएको आवाजमा गाउन थाल्यो ,   मुन्नी बदनाम हुर्इ डारलिङ तेरे लिए....... ।अनि आफू भन्दा केही बढी उमेरको  साथीतिर फर्केर ङिच्च गर्दै बेफिक्री गफिन थाल्यो ।
मोटो, उमेर भन्दा केही होचो थियो त्यो फुच्चे ।त्यसको छाला घामले डढेर कालो भएको थियो ।घाँटीमा मयलका लेघ्रा प्रस्ट देखिन्थे ।रातो र कालो रङको त्यसको  ज्याकेट रङ नै छुट्याउन मुस्किल पर्ने गरी मैले भएको थियो ।त्यो पनि काखी र बाहुलाको फेर च्यातिएको थियो ।निलो ट्राउजर कुर्कुच्चा देखि माथि ६ इन्च जति उध्रिएकाले हावामा फ्याल फ्याल गरिरहेको थियो ।बाँसका खबटा जस्ता प्लास्टिकका चप्पलभित्र घुस्रिएका त्यसका खुट्टा गोरूका काँध जस्ता थिए ।
आश्चार्य के थियो भने फुच्चेको स्वरूप र जाँगरमा  आकाश पातालको अन्तर देखिन्थ्यो ।ऊ आफ्नो काममा पूर्ण समर्पित त थियो  नै, उसमा एउटा सफल खलासीमा हुनु पर्ने गुण र संस्कारहरू पनि विकसित भइसकेका थिए ।त्यसको गतिविधि देखेर मैले त्यसलार्इ चासो दिन थालेँ ।
मेरो सिट ढोकाको छेउमा भएकाले ऊ मेरो ठीक अघिल्तिर पर्थ्यो ।बेला बेला बस घ्याच्च गर्दा ऊ मेरो ठाउकामा ठोक्किन  आइपुग्थ्यो ।
कठै ! यस्तो चिचिलैमा खलासी काम गज्जबले समाल्ने यो फुच्चे विद्यालय गएको भए पहिलो हुन्थ्यो होला । म उतिर एकोहोरिएँ । मैले आँखा नहटार्इ एकोहोरो उसैलार्इ हेरिरहेको थाहा पाएर होला उसले मलार्इ आँखा झिम्क्यायो र सुसेल्न थाल्यो ।उसको यो कृयाकलाप केटी पट्याउन अभ्यस्त कुनै युवाको जस्तो थियो ।
ह्या! यो फुच्चे त ठिस रहेछ। मेरो छेवैमा रहेकी एक  अधवैँसे महिलाले भनिन् । हेर हेर, लाजसाज नमानी   आँखा सन्काएको । राम राम ! कस्तो जमाना  आयो बा.....
मैले मुसुक्क हाँस्दै सोधेँ, बाबु कति वर्षका भयौ ?
ऊ झनक्क रिसायो,  किन चाहियो वर्ष ? मैले उसको प्रतिप्रश्न तिर ध्यान नदिर्इ अर्को प्रश्न गरेँ ।, तिम्रो घर कहाँ हो ?
फुच्चे झन् उग्र भयो ।आँखा ठुल्ठुला पारेर मलार्इ खाउँला झैँ गरी हेर्यो र केही नबोली तुरून्तै आँखा भुइँतिर झार्यो ।
मैले एकनाश उसलार्इ हेरिरहेँ ।
ए भुन्टे! ढोका ला ।अहिले तेरो बराजुले देख्यो भने दिनभरिको कमाइ चट पार्छ ।ड्राइभर फेरि जङ्गियो, ढोका ला भन्या सुन्दैनस् गोरू  फुच्चे तिखो स्वरमा चिच्यायो । पछाडि त्यत्रो ठाउँ खाली छ सबैलार्इ यही ढोकामा कोच्चिनु पर्ने, छिटो सर्नुस् पछाडि ।
गाडीभित्र नअटाएर ढोका भरि उभिएका मान्छे चलमलाए ।मैले मान्छेका चेपबाट पुलुक्क नियालेँ ।पछाडि खाली ठाउँ थिएन ।फुच्चेले आफ्नै सिपको बेस्मारी प्रयोग गरेर कसो कसो ढोका ढप्क्यायो । सिंहदरबार आइ पुगिएछ ।
फुच्चेको रिसाहा स्वभाव थाहा पाएर मैले उसलार्इ ध्यान दिन छाडेकी थिएँ ।।त्यस माथि सानो सिटमा म गाह्रो गरी कोच्चीएकी थिएँ ।आफैँलार्इ अडिन मुस्किल परिरहेका  बेला कसले खलासीलार्इ ध्यान देओस् ।
फुच्चे एकाएक साथीसँग गफ गर्न छाडेर मतिर फर्कियो ।उसका आँखामा अगिको जस्तो आक्रोश थिएन ।मैले उसलार्इ पर्वाह नगरेको जस्तो भाव देखाएँ तर उसले बिना प्रसङ्ग कुरा झिक्यो  बाह्र वर्षको भएँ ।
म फिस्स हाँसेँ ।मेरो दश वर्षको छोरो भन्दा यो होचो थियो ।मलार्इ उसको माया लाग्यो ।आफ्नो ममताले उसलार्इ छुन मन लाग्यो ।तर तुरून्तै त्यसका रिसाएका बिरालाका जस्ता बल्ड्याङ्ग्रे आँखा सम्झेँ ।
यति सानै उमेरमा खलासी गर्न कसरी सिक्यौ त ?
फुच्चे फेरि रिसायो ।
फुच्चे साँच्चै रिसाएको हो वा त्यो उसको बानी हो ? यो छुट्याउन मलार्इ गाह्रो पर्यो ।मलार्इ मुखैले सिट्टी फुक्न आउँछ, पेसेन्जर बोलाउन आउँछ, साहूले भनेको पहिलेको २२ वर्षको हर्के  भन्दा म राम्ररी काम गर्छु रे ।मलार्इ साहुले राम्रो खलासी भन्छ । नपत्याए सोध्ने ?
 आफ्नो पुरूषार्थ एक सासमा सुनाएपछि उसले मलार्इ एकपल्ट उपेक्षाको नजरले हेर्यो र तुरून्तै अर्कोतिर फर्कियो ।
लौ भाडा दिनुस् भाडा    उसको आवाज र हाउभाउमा  भाडा मगाइको भाव कम र हप्काइको भाव ज्यादा झल्कन्थ्यो ।बिच बिचमा ऊ मलार्इ हेर्दै पनि गर्थ्यो  । अटेसमटेस भिडबाट धेरैले एकैचोटि आक्रोश पोखे , टेक्नु न समाउनु भको बेला  के को भाडा ? ओर्ले पछि दिम्ला ।
फुच्चेले हिम्म्त बटुल्यो  र झन् चर्क्यो , ‘ओर्ले पछि सब भाग्छन् ।मैले देखि सक्या छु । खुरूक्क दिनुस् ।
मानिसहरू बिस्तारै गोजीतिर हात हाल्न थाले । नजिकै बसेका अधबैँसेतिर हात फैलाएर विजयी मुद्रामा ऊ करायो,  खै दिनुस्
 सिनेमाका हिरोको डाइलग दोहोर्याउँदै ऊ भाडा उठाउन थाल्यो । म उसको आत्म विस्वास देखेर छक्क परेँ ।अगाडिबाट ड्राइभर फेरि करायो, ढोका  ला भन्या, मास्साले ।   काठमाडौँको धुवाँ र धुलोले त्यसको छालालार्इ यसरी ढाकेको रहेछ कि साना तिना गालीका शब्दले छुँदै नछुने ।उसले निस्फिकी भइ ढोका बन्द गर्यो ।उसको काम गराइबाट यस्तो बुझिन्थो कि ऊ ड्राइभरले अह्राएर हैन, आफ्नै ज्ञानले ढोका बन्द गर्दै छ ।थेत्तरो मोरो ।
मैले फुच्चेलार्इ सयको नोट दिएँ ।उसले मेरो अनुहारमा हेर्यो। मेरो आँखामा कालो चस्मा देखेपछि त्यसले तुरून्तै गीत गायो,  गोरे गोरे मुखडे पे काला काला चस्मा ।   अनि आदेश दियो, खुद्रा दिनुस् ।
मैले व्यागका कुना काप्चा खोतलेर  बीस रूपैँया फेला पारेँ ।फुच्चेले मेरो हातैबाट फुत्त तानेर लियो अनि भन्यो, तिन रूप्पे  झर्ने बेलामा दिन्छु
एकैछिनमा सबैसँग भाडा उठाइ सकेर ऊ फेरि मेरो छेउमा आयो र भन्यो, ‘मेरो घर काभ्रे हो ।तिन वर्ष भयो खलासी गरेको । राम्रो खलासी भनेर साहुले बीस रूप्पे बढी दिन्छ ।नपत्याए सोध्ने ? 
नौ वर्षदेखि खलासी भर्इ खाएको, कत्ति ठूलो मान्छे !’एक छिन चुप लागेर म फेरि बोलेँ ।
व्यङ्ग्य गरेको ठानेछ, मेरो कुरामा चित्त बुझाएन ।भन्यो, किन नपत्याएको,सोध्ने ?
साँच्चै हो ।यात्रु ओर्लेर खाली भएको पछाडि पट्टिको सिटमा बसेको उसको साथीले घाँटी तन्काएर भन्यो, साँच्चै हो।
हेर्न, यो दिदी पत्याउँदैन ।उसले साथीतिर फर्केर गुनासो गर्यो ।
पत्याएँ ।  उसको मैलाले पाप्रा  पाप्रा परेको गाला सुम्सुम्याउँदै मैले भनेँ ,  अघि नै पत्याइ सकेँ ।
तिम्रो घरमा को को हुनुहुन्छ ?
बाउलार्इ पुलिसको मान्छे भनेर माउवादीले मार्यो ।आमालार्इ बिरेको बाउले लग्यो ।कस्तो छुच्चो  बिरेको बाउ ।बहिनी र मलार्इ त्यसै पिट्थ्यो मुटु भक्कानिने गरिको कथा सुनायो उसले ।
एक दिन उसको बाउको साथीले कसो कसो भगाएर ल्याएछ र कीर्तिपुरको मिनी वसको खलासी बनाइ दिएछ ।त्यहाँबाट पैसा कम गाली बढी पाएपछि फुच्चे यो गाडीमा सरेछ ।
निन्याउरो अनुहार पारेर आफ्नो कथा सुनाइ रहेको फुच्चेले एकाएक अनुहार उज्यालो पार्दै भन्यो, यहाँ त यो ड्राइभर दाइले मात्र गाली गर्छ ।साहुले खाना पनि दिन्छ । फुच्चे मलार्इ आफ्नो कुरा सुनाउँदा बीच बीचमा दौडेर ढोकामा जान्थ्यो र बाटामा उभिएका मानिसलार्इ हेर्दै कराउँथ्यो,  एकान्तकुना ,भैँसेपाटी बुङ्मती .....
बेलुकासम्म पनि मलार्इ त्यही फुच्चेको यादले पछ्याइ रह्यो । झलक्क झलक्क मैले त्यही हावाले हानेर फुटेका गाला ,जिङ्ग्रिङ्ग परेको कपाल ,बाक्लो मैले जमेको हातखुट्टा र घाँटी सम्झेँ ।त्यसको एक्लोपन,उमेर भन्दा दुर्इ गुणा बढी सङ्घर्ष र हिम्मत सम्झेँ ।
केही दिनपछि मलार्इ अचानक फुच्चेको याद आयो ।मैले अफिस जान स्टार्ट गरिसकेको स्कुटर बन्द गरेँ ।डिकीमा राखेको ब्याग झिकेर काँधमा भिरेँ र सरासर नख्खुतिर लागेँ ।बाटामा हिँडि रहँदा मलार्इ लाग्यो, त्यस्को थोत्रो मैलो ज्याकेट यो माघको जाडामा त कामै नलाग्ने भयो होला ।ट्राउजर त उ बेलै फाटिसकेको थियो ।नख्खुका एकदुइ पसल चहारेर मैले एउटा बाक्लो ज्याकेट  किनेँ अनि बाटाका छेउमा उभिएर त्यही निलो रङको मिनीबस पर्खन थालेँ ।
निकै बेर पर्खेपछि टाढैबाट आउँदै गरेको मिनी बसलार्इ मैले चिनि हालेँ ।हात उठाएर हतार हतार बसमा चढेँ ।म त्यस फुच्चे केटोलार्इ हेर्न उत्साहित थिएँ ,त्यसको चर्को बोली सुन्न लालायित थिएँ ।एउटा सिटमा बसेर पहिला मैले ढोका तिर हेरेँ ।अनि बसका प्रत्येक सिटमा दृष्टि अड्याएँ तर अहँ,  फुच्चे कतै देखिएन ।ढोकामा झुन्डिएर रत्नपार्क रत्नपार्क भन्दै कराउने केटो अर्कै थियो । आज बिदा बसेको होला या बिरामी पो भयो कि ?
मैले मन थाम्न सकिनँ ।ड्राइभरको नजिकैको सिटमा गएर बसेँ । गाडीमा मान्छे धेरै थिएनन् त्यसैले ड्राइभर पनि केही फुर्सदिलो मुडमा देखिन्थ्यो ।यसलार्इ सोध्ने उपयुक्त मौका यही हो। गाडी भरिँदै गएपछि बोलायो भने यो गोमनझैँ स्याँक्क फुल्छ ।
गुरू जी! त्यो सानो फुच्चे खलासी खोइ ?      
ड्राइभरले पुलुक्क पछाडि फर्केर हेर्यो र अनुहार अमिलो बनायो ।बाक्ला ओठ, नाक र गाला भरि पोतो , दोहोरो ज्यान ,  त्यो डर लाग्दो देखियो ।
आज  आएन छ ? मैले आफैँलार्इ सोधेझैँ बिस्तारै भनेँ ।
निकाल्डियो ।त्यसले पक्का नेवारी लवजमा भन्यो
किन नि ?
मसँग मुखमुखै लाग्यो ।साहुलार्इ भनेर निकाल्डियो मैले ट । यति खेर त्यसको अनुहार सखुवाको बोक्रो जस्तो भावहीन देखियो ।
ढोकामा उभिएको नयाँ खलासीलार्इ देखाउँदै त्यसले भन्यो, अनि यसलार्इ राख्यो ।यो मेरो साठीले चिनेको केता हो ।
ड्राइभरको विजयी मुद्रा देखेर मलार्इ त्यसको अनुहार कोपर्न मन लाग्यो ।
मलार्इ त्यो गाडीमा बस्न मन लागेन ।जाउलाखेल पुगेपछि मैले गाडी बदलेँ
र अर्को गाडीमा चढेर  अफिस पुगेँ ।
अफिस पुगे पनि मैले काम तिर ध्यान दिन  सकिनँ ।मलार्इ त्यही फुच्चेको याद आइरह्यो ।
मैले प्लास्टिकको झोलामा हात हालेर ज्याकेट  सुम्सुम्याइ रहेँ ।


उमा सुवेदी


No comments:

Post a Comment