सगुना शाह
उपन्यासमार्फत आख्यानको क्षेत्रमा प्रवेश गरेकी उमा सुवेदी निकै फराकिलो विषयवस्तु र मानवीय संवेदनाका विविध आयामलाई एकै ठाउँमा समेट्दै तोदालाई महत्त्वपूर्ण ठाउँमा उभ्याउन सफल भएकी छन्। सरल भाषा, साहसिक लेखन र कथावाचनको नवीन शैलीले आख्यानकारलाई निकै सम्भावना बोकेकी लेखक भन्न मिल्ने बनाएको छ।
दोस्रो विश्वयुद्धको कारक बनेका जर्मनीका तानाशाह एडोल्फ हिटलर र उसको नाजी सेनाले गरेको नरसंहारबाट बच्दै भाग्यवश इजरायल आइपुग्न सफल यहुदी वृद्धवृद्धाको कारुणिक व्यथा र तिनको मनोविज्ञानलाई कोट्याउन गरेको प्रयास उपन्यासका सबल पक्ष हुन्। खाया, मालिया, इनेस, जुलिएट, अब्राहम र मिसेलजस्ता पात्रको मनोविज्ञान, मानसिक सन्तुलन गुमाएकाको दु:ख, त्रास र तिनको मार्मिक अवस्थामात्र नभई यहुदीको भाषा, संस्कृति र चाडपर्वबारे पनि जान्ने अवसर पाठकलाई प्राप्त हुन्छ। यो पाटो उपन्यासको अर्को सुन्दर पक्ष हो।
एकातिर हिटलरको ज्यादती उपन्यासमा फ्लासब्याकमा जस्तो बारम्बार आउँछ भने अर्कातिर उपन्यासकी प्रमुख पात्र बनाइएकी पार्वतीको कथासँगै भित्रिन्छ रोजगारका लागि बिदेसिन पुगेका उनीजस्ता कैयौं नेपाली महिलाको कथा। देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका साथै भत्किएका सामाजिक सम्बन्ध, एक्लोपन, दु:ख, बेरोजगारी, अन्योल, राज्यव्यवस्थाविरुद्धको आन्दोलन आदिको राम्रो प्रस्तुति छ उपन्यासभित्र। यतिमात्र नभएर व्यक्तिका जीवनमा आइपर्ने कतिपय नैसर्गिक परिस्थितिको हृदयस्पर्शी प्रस्तुतिलाई पनि उनले राम्ररी वर्णन गरेकी छन्। विदेशी भूमिमा रहँदा गाँसिन पुगेका मायाप्रेमका सम्बन्ध, यता आफ्नै भूमिभित्रको पैसामाथि गाँसिएका सम्बन्ध, धोका, महिला भएकै कारण पाइलापाइलामा भोग्नु परेका समस्या, आफन्तबाट तिरस्कार गरिएका प्रसंगलाई कथाभित्र निकै सरल तथा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। केयरगिभरका रूपमा इजरायल पुगेका महिलाले सुखका पोका बोकी देश फर्कने सपना बुनेका तर विभिन्न कारणवश ती सपना तुहिँदा उत्पन्न अन्योललाई पनि उपन्यासमा सफलतापूर्वक चित्रण गरिएको छ।
आख्यानकार सुवेदीले चाहे नेपाली हुन् वा इजरायली, हिन्दु हुन् वा यहुदी, दु:ख सबैका लागि पीडादायी नै हुन्छ, दु:खको कुनै जात, धर्म हुँदैन भन्ने तथ्यलाई उपन्यासका पात्रहरूले बेग्लाबेग्लैजस्तो देखिने कथामार्फत निकै सरल तरिकाले बुनेर देखाएकी छन्।
तोदाभित्र यौनमनोविज्ञानलाई पनि शालीन तर प्रखर ढंगबाट उठाइएको छ। पार्वतीको समुद्रको वार्तालाप होस् वा साठी वर्षीया यहुदी वृद्धा मालिया या रोशनी, पात्रहरूका कुण्ठित यौनेच्छा तीव्र रूपमा प्रकट भएका छन्। यौनका विषयमा भने पाठकलाई अलि अपत्यारिलो र बेलाबखतमा अति नाटकीय लाग्न पनि सक्छ। जस्तो कि समुद्रमा जहाज डुब्न लाग्दा रोशनीलाई आफ्नो ज्यानको भन्दा पनि अघिल्लो दिन किनेर ल्याएको सेक्स टोयको प्रयोग गर्न नपाइने पो हो कि भन्ने चिन्ता लागेको प्रसंग अनौठो र अलि अस्वाभाविक लाग्छ।
सेक्स भनेको सबैका लागि अपरिहार्य विषय हो भन्ने देखाउन खोज्नु उपन्यासकारको आशय हुन सक्छ। तर, के त्यस प्रकारको अभिव्यक्तिका लागि विदेशी भूमि नै आवश्यक छ त? सेक्स महिलाका लागि होस् या पुरुषका लागि, एक्लोपनले होस् या चिसिएको सम्बन्धले होस्, देश होस् या विदेश यस्ता कुराले खासै फरक पार्नु नपर्ने हो। तर, बिदेसिएर एक्लो हुनेबित्तिकै सेक्स टोयप्रति लिप्त हुनुपर्नेजस्तो देखिनु अलि असुहाउँदो लाग्छ। बारम्बार सेक्सको प्रसंग उठाएर अहिलेको उदार समाजको चित्रण गर्न खोज्दाखोज्दै पनि उपन्यासकारले सेक्स टोयको नाम किटेर भन्न नसक्नुले उनी अलि हिच्किचाएको प्रस्टै देखिन्छ। सेक्सको प्रसंगले अलि प्राथमिकता पाएजस्तो देखिनुले समाज ‘क्याजुअल रिलेसन’ तिर बढेको हो कि भन्ने भान पर्नसक्छ। सेक्स अहिलेको समाजका लागि प्रतिबन्धित विषय नभए पनि यसको प्रस्तुति अलि भद्दा नभएर ‘एस्थेटिक प्लेजर’ दिने खालको भए यसको प्रयोग तोदामा सफल साबित हुन्थ्यो।
पार्वतीले अघिल्लो दिनसम्म हिब्रु भाषा नबुझ्नु तर भोलिपल्टै फटाफट बुझ्नु, उनले एसएलसीसम्म पढेको भनेर उपन्यासमा उल्लेख हुनु र पछि कलेजको पढाइ गर्दै गरेकोजस्ता सानातिना गल्ती सम्पादकीय कमजोरी हुन्। त्यसलाई हटाउन नसकिने भने थिएन।
केही समययता नेपाली साहित्यमा उपन्यासको नाम अनौठो राख्ने होड नै चलेको जस्तो देखिन्छ। तोदा पनि यसबाट अछूतो देखिएन। तोदा नाम कसका लागि? इजरायलको शरण पाएका यहुदी महिलाले त्यो भूमिलाई भनेको तोदा कि, पार्वतीले दु:खमाथि दु:ख पाएको कुरालाई कि, पार्वतीले कर्मभूमि इजरायललाई तोदा भनेको भन्ने कुरामा पाठक भ्रममा पर्ने सम्भावना छ। तथापि तोदा राम्रो उपन्यास हो र पछिल्लो समयमा आएका अख्यानमध्येको पढ्नलायक।